गोल्छा र निम्बसमा काम गरेको अनुभव काम लाग्याे : चलाउने

वीरगंज/पर्साको पर्सागढी नगरपालिका-३ पारसटोलमा करिब एक अर्बको लगानीमा दाल र पिठो मिल स्थापना भएको छ । दाल मिलको परीक्षण आइतबारदेखि शुरू भइसकेको छ भने पिठोको उत्पादन जेठ मसान्तभित्र गरी बजारमा पठाउने लगानीकर्ताको लक्ष्य छ । गोल्छा र निम्बसको खाद्यान्न कारोबारमा अनुभव लिएका ३८ वर्षीय भरतबहादुर चलाउनेले उद्योग स्थापना गरेका हुन् । करिब १५ वर्षदेखि खाद्यान्न व्यवसायमा सक्रिय उनि हाल काठमाडौं बसेर व्यवसाय गर्दैआएका छन् ।

बाराको जीतपुर बजारबाट ६ किलोमिटर पश्चिम पारसटोल नजिक उनको उद्योग छ । उद्योग गत वर्ष मात्रै खुलेको हो । एक वर्षमै उद्योग सञ्चालन हुन लागेकोमा खुशी व्यक्त गर्दै उनले भने, “मैले गोल्छा र निम्बसमा काम गरेको अनुभव काम लाग्याे” उनले थपे ‘हाम्रो लक्ष्य उत्पादन नेपाली बजारमा मात्र बेच्ने होइन, विदेश निर्यात पनि गर्छौं ।’ पुस्तैनी घर अछाम,बर्दिया हुँदै काठमाडौंसम्म जागिरे जीवनको यात्राबाट उद्योग सञ्चालक बन्न पाउँदा उनी औधी खुशी छन्। उनले अगामी वैशाख २ गतेपछि बजारमा अनार ब्रान्डको मुसुरो,मास, रहरको दाल पुर्याउने लक्ष्य अनुसार काम भइरहेको बताए ।

उद्योग निर्माणको ९० प्रतिशत काम सम्पन्न भइसकेको छ भने पिठो मिलको लागि भौतिक पूर्वाधार निर्माण जारी छ। ४ बिघामा नमस्ते एग्रो इन्डस्ट्रिज प्रालि (दाल मिल) र नमस्ते फ्लोर (पिठो) मिल लगाइरहेका चलाउनेले थप उद्योग विस्तारको लागि थप ५ बिघा जगा खरिद गरेका छन् ।उद्योगमा दाल प्रशोधन त प्याकेजिङका लागि जर्मन प्रविधिको दुई अत्याधुनिक प्लान्ट राखिएको छ। जसले दिनमा १ सय ५ टन दाल उत्पादन गर्ने क्षमता छ। दाल मिलको लागत खर्च करिब एक अर्ब छ भने १७ करोडको लागतमा पिठो उद्योग स्थापना हुने उनले जानकारी दिए। पिठो उद्योगले प्रतिघण्टा २ टन पिठो र एक टन प्रशोधित गहुँ (क्लिन ह्वीट) उत्पादन गर्छ ।

प्रशोधित गहुँलाई उपभोक्ताले चाहेको चक्की मिलबाट पिठो बनाउन सक्छन्। पिठो उद्योगबाट १० प्रतिशत चोकर पनि उत्पादन हुने र त्यो पशुपक्षी आहार उद्योगलाई बिक्री गर्ने उनको लक्ष्य छ । पहिलेदेखि काठमाडौंमा सान्वी इन्टरनेशनल कम्पनी र शुभलक्ष्मी फूड प्रोडक्ट्सबाट खाद्यान्नको कारोबार गर्दै आएको चलाउने परिवारले हाल अनार ब्रान्डको लङ ग्रेन चामल, तथा चना, मुसुरो दाल विदेशबाट आयात गरी नेपालमा बिक्री वितरण गर्दैआएको छ। अनार ब्रान्ड बिक्री गर्दै आएको र नेपालको बजारीकरणको बारेमा ठूलठूला औद्योगिक घरानामा काम गरेको अनुभवलाई उनले आफ्नो उद्योगमा उपयोग गर्दैछन् । नेपाल इन्भेष्टमेन्ट बैंकसँगको ऋण सहकार्यमा उक्त उद्योग स्थापना गरिएको हो । ट्रेडिङ कम्पनीको वार्षिक एक अर्बको कारोबार हुने गरेको लगानीकर्ताले बताएका छन्।

प्रकाशित मिति : २०७८ चैत्र २ गते बुधवार
प्रतिक्रिया दिनुहोस