एमसिसी सम्झौता बिरुद्ध कैलालीमा संयुक्त दलहरूको विरोध प्रदर्शन

कैलाली/अमेरिकी अनुदान मीलिनियम च्यालेन्ज कर्पोरेसन (एममसिसी) सम्झौता बिरुद्ध नेपाल कम्युनिष्ट पार्टी सहित ६ राजनितिक दल र दुई मोर्चाहरुको संयुक्त आयोजनामा शुक्रबार कैलालीको अत्तरियामा बिरोध प्रदर्शन गरेका छन् । एमसीसी सम्झौता राष्ट्रिय हित विपरित रहेको भन्दै उक्त सम्झौतालाई खारेजीको माग गर्दै विरोध प्रदर्शन गरिएको हो ।

उक्त विरोध प्रदर्शन पछि आयोजित कोण सभालाई सम्बोधन गर्दै नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य ओम प्रकाश पुनले विकाश परियोजनाको रूपमा नेपाल भित्रिरहेको एमसीसी परियोजना राष्ट्र र राष्ट्रियताको हिततमा नभई अमेरिकनहरूले बनाएको दीर्घकालीन सैन्य रणनितीको अंग रहेको र यो हाम्रो देश नेपालका लागि घातक रहेको उनले बताए । नेपालको प्राकृतिक सम्पदा,भूगोल, प्रकृतिक स्रोत साधनहरू यूरेनियम, जल र ऊर्जा माथि नेपालका महत्वपूर्ण खनिज पदार्थ साथै सिङ्गो राष्ट्रियता माथि हस्तक्षेप गर्ने उद्देश्यसहित लागु हुन लागेको एम सी सी सम्झौता खारेज हुनुपर्नेमा नेता पुनले जोड दिए ।

उनले भने,“ संसदवादी दलालहरुले गर्ने राष्ट्रहित विपरितका एजेण्डाहरुलाई दीर्घकालीन निकास दिनको लागि यो दलाल संसदीय व्यवस्था को अन्त्य गरी नयाँ जनवादी राज्य व्यवस्था स्थापना गर्नु अनिवार्य छ । एम सी सी र यस्ता राष्ट्रघाती सम्झौताका विरुद्ध सम्पूर्ण देशभक्त न्यायप्रेमी जनसमुदाय हरू एक ठाउँमा उभिएर आन्दोलनमा उत्रन जरुरी छ ।” यो राष्ट्रघाती एम सी सी सम्झौता खारेज नहुँदा सम्म हाम्रो पार्टी निरन्तर आन्दोलनको मोर्चामा रहने बताउँदै सबै सचेत नागरिकले राष्ट्रियता स्वाभिमान स्वाधीनता जोगाउन आन्दोलनको बाटोमा उभिन केन्द्रिय सदस्य पुनले अपिल पनि गरे । सयुक्त मोर्चाहरुका तर्फबाट सहभागी अन्य वक्ताहरु सबैले राष्ट्रघाती MCC खारेज हुनुपर्नेमा जोड दिएका थिए ।

सयुक्त रुपमा गरिएकाे उक्त बिरोध प्रदर्शन राष्ट्रघाती MCC सम्झौता खारेज गर, MCC चाहिँदैन – देश बेच्न पाइँदैन, एकीकृत जनक्रान्ति जिन्दाबाद, संयुक्त आन्दोलन जिन्दाबाद जस्ता नारा जुलुस सहित अत्तरियाको बजार परिक्रमा गरी अन्तिममा महेन्द्रनगर रोडको वरपिपल गल्लीमा गएर कोण सभामा परिणत भएको थियो । नेपाल कम्युनिष्ट पार्टी कैलालीका गोदाबरी नगर ईन्चार्ज समुन्द्र थापाले सञ्चाल गरेका थिए र उक्त बिरोध सभामा संयुक्त मोर्चाका नेताकार्यकर्ता हरुका साथै अत्तरिया क्षेत्रका व्यवसायी र विद्यार्थीहरुको पनि सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २०७८ फाल्गुन ७ गते शनिवार
प्रतिक्रिया दिनुहोस