एम्बुलेन्स आगजनीप्रति पार्टीको कुनै संलग्नता छैन् : अपेक्षा

पार्टी र आन्दोलनलाई बदनाम गर्न दुस्साहस नगर्न चेतावनी'

गुल्मीको मुसिकोटमा एम्बुलेन्समाथि आगजनी गरेको घटनामा पार्टीको कुनै संलग्नता नभएको नेकपा गुल्मीले बताएको छ ।

मुसिकोट नगरपालिका–४ स्थित आफ्नै घरमा रोकेर राखेको लु २ च २३७८ को एम्बुलेन्समा राती साढे १० बजे आगजनी भएको घटनालाई आफ्नो पार्टीसित जोडेर केही सञ्चार माध्यममा आएको समाचारप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको भन्दै नेकपा गुल्मीका इन्चार्ज अपेक्षाले एम्बुलेन्स, बारुणयन्त्र, दुधका गाडी र शववहानहरु निर्बाध चल्न दिने पार्टीको नीति रहेको बताउनुभएको छ ।

इन्चार्ज अपेक्षाले नेकपालगायत देशभक्त नेपाली जनताले चलाएको सङ्घर्षको लोकप्रियता बढेपछि त्यसलाई बदनाम गर्न केही दलाल, भ्रष्ट र कुपुमण्डुकहरुले पार्टी र आन्दोलनलाई बदनाम गर्न दुस्साहस नगर्न चेतावनी दिनुभएका छ । उहाँले नेपाली जनताको समर्थनमा राष्ट्रघाती एमसीसी सम्झौताविरुद्ध नेपाल बन्द शान्तिपूर्ण रुपमा शानदार भइरहेको बताउनुभयो ।

मंगलबार मुसिकोट नगरपालिकाको वडा नम्बर ३ र ४ का भारतीय भूतपूर्व सैनिकले एम्बुलेन्स खरिद गरेर वडा गाउँ स्वास्थ्यचौकीलाई दिएका थिए । एम्बुलेन्सको आधा भाग जलेपछि स्थानीयले आगो नियन्त्रणमा ल्याउन सफल भएका थिए । आगलागीबाट एम्बुलेन्सको इन्जिनको भाग पूरै जलेको छ ।

प्रकाशित मिति : २०७८ फाल्गुन ४ गते बुधवार
प्रतिक्रिया दिनुहोस