लुम्बिनी प्रादेशिक अस्पतालमा पत्रकारहरुलाई निःशुल्क सेवा उपलब्ध हुने

लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा फ्रण्टलाईनमा खटिएर काम गर्ने पत्रकारहरुलाई आईसीयु (इन्टेन्सिभ केयर युनिट) र एचडियु (हाई डिपेन्डेन्सी युनिट) सेवा निःशुल्क हुने भएको छ । पत्रकारहरुलाई कोरोना संक्रमण भएमा उनीहरुको उपचारलाई सहज बनाउनको लागि नेपाल पत्रकार महासंघ रुपन्देहीको पहलमा पत्रकारहरुलाई आईसीयु र एचडियु सेवा निःशुल्क गरिएको हो ।
कोरोना संक्रमित पत्रकारहरुका लागि सहज रुपमा उपचारको व्यवस्था मिलाउने गरी नेपाल पत्रकार महासंघ रुपन्देही र लुम्बिनी प्रादेशिक अस्पताल बुटवल बिच सहमति गरिएको छ । नेपाल पत्रकार महासंघ रुपन्देहीको तर्फबाट अध्यक्ष रामराज पोख्रेल र अस्पतालको तर्फबाट प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा ईन्द्र ढकालले उक्त सहमति पत्रमा हस्ताक्षर गर्नुभएको छ ।
सहमति पत्रमा हस्ताक्षर पछि बोल्दै अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. ढकालले नागरिकहरुलाई सुचनाका माध्यमबाट सुसुचित गराउने सन्दर्भमा फ्रन्टलाइनमा खटिई कार्य गर्ने पत्रकार तथा सञ्चारकर्मीहरुलाई तेश्रो लहरको बेला सहज र प्राथमिकताका साथ उपचार व्यवस्था मिलाउने उदेश्यले याे सम्झौता गरिएको बताए साथै उनलेे अाफ्नाे कार्यकाल भरि पत्रकारहरुको लागि अन्य समयमा पनि काम गर्ने योजना बनाएर अगाडि बढ्ने आश्वासन समेत दिए ।
उक्त कार्यक्रममा नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोख्रेलले पत्रकारहरुले अस्पतालबाट आगामी दिनमा पनि थप सुविधा पाउने आशा व्यक्त गर्नुभयो । उहाँले महासंघले सधै पत्रकारको हकहितमा काम गर्ने बताउँदै यसले पत्रकारहरुलाई ढुक्क भएर काम गर्ने वातावरण सिर्जना गरिएको बताउनु भयो । सहमति कार्यक्रममा नेपाल पत्रकार महासंघ रुपन्देहीका उपाध्यक्ष विश्वास ढकाल,अमृता अनमोल,कोषाध्यक्ष सञ्जय सौगात, कार्यसमिती सदस्य प्रदीप आचार्य लगायतको उपस्थिति थियो ।

प्रकाशित मिति : २०७८ माघ ९ गते आइतवार
प्रतिक्रिया दिनुहोस