२७ वर्षीय किमले यसरी पाए उत्तर कोरियाको कमाण्ड

उत्तर कोरियामा एक २७ वर्षीय कम अनुभव भएका व्यक्तिले सत्ता सम्हालेको १० वर्ष पूरा भएको छ । यो अवधिमा केही नेताले मात्रै उनको जत्तिकै शीर्ष स्थान पाएका छन् । तर किम जोङ उनले नै शासनको अधिकार कसरी पाए त ?
प्योङयाङका सडक रोएका मानिसहरुले भरिएका थिए । स्कुलको पोशाक लगाएका विद्यार्थीहरु घुँडा टेकेर झुकेका थिए र दुःखमा डुबेका थिए । छातीमा हात राखेर दुःख मनाइरहेका महिलाहरु देखिएका थिए ।
उत्तर कोरियाको कडा नियन्त्रण भएको सरकारी मीडियाले उनीहरुको प्रिय नेता किम जोङ इलको ६९ वर्षको उमेरमा निधन भएको घोषणा गरिरहेका थिए । उनको मृत्यु २०११ को डिसेम्बर १९ मा भएको थियो ।
विश्वभरीका कोरियाली मामिलाका विशेषज्ञहरु एक व्यक्ति बारे जान्नका लागि आफ्ना फाइलमाथि अनुसन्धान गर्न जुटे ।
केवल २७ वर्षको उमेरमा उनी तथाकथित महान उत्तराधिकारी थिए । तर कमै मानिसले सोचेका थिए कि उनी कुनै पनि चिजमा सफल हुनेछन् । उमेर र अनुभवलाई प्राथमिकता दिने समाजमा कुनै यस्तो व्यक्तिको शासन कसरी चल्छ भन्ने उनीहरु सोचिरहेका थिए । किम जोङ उनसँग यी दुबै कुरा थिएनन् ।
कयौं व्यक्तिले सैन्य कु वा उत्तर कोरियाली कुलीन वर्गद्वारा सत्ता हत्याउने भविष्यवाणी गरेका थिए । तर विश्वले जुन नव जवान तानाशाहलाई कमजोर आँकेका थिए, किम जोङ उनले आफ्नो पकड मजबुत मात्रै गरेनन् उनले ‘किम जोङ उनवाद’ नामको एक नयाँ युगको सुरुवात पनि गरे ।

आफ्ना प्रतिद्वन्द्वीलाई सिध्याउने र सयौँ मानिसलाई मृत्युको घाट उतारेपछि उनले आफ्नो नेतृत्व सुरु गरेका थिए । त्यसपछि उनले आफ्नो ध्यान विदेशी मामिलामा लगाउन थाले । चार परमाणु परीक्षण र १०० ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरियो र अमेरिकी राष्ट्रपतिसँगको शिखर सम्मेलनले त उनको चर्चा अन्तर्राष्ट्रिय स्तरमा नै भयो । तर उनले यसको मूल्यसमेत चुकाउनु प¥यो । तर हाल आएर उत्तर कोरिया अप्ठेरो स्थितिमा छ । सत्ता सम्हालेको समयको तुलनामा यो देश हाल आएर धेरै गरिब र एक्लो भएको छ ।

  • #त्यसो भए उनको शासनमा बस्न कस्तो हुन्छ ?
    देश छोड्ने १० उत्तर कोरियालीमध्ये एक उनका शीर्ष कुटनीतिज्ञ पनि हुन् । उनले किम जोङ उनको १० वर्षको अवस्था बताएका छन् ।

#एक नयाँ सुरुवात
छात्र किम ग्यूम ह्योकले किम जोङ उनको पिताको निधनको दिन केही यस्तो गरे, जसको बदलामा उनलाई गोलीसमेत हान्न सकिन्थ्यो । उनले एक पार्टी गरेका थिए ।

उनी भन्छन्,‘यो अत्यन्त खतरनाक थियो । तर हामी त्यतिबेला अत्यन्त खुसी थियौँ ।’

एक नयाँ जवान नेता जसलाई स्किइङ र बास्केटबलसँग लगाव थियो, उनीबाट नयाँ सोच र परिवर्तनको आशा गरिएको थियो ।’ उनी भन्छन्, ‘हामीलाई किम जोङ उनसँग आशा थियो । उनले युरोपमा पढेका थिए । यसैले हामीलाई पनि लाग्यो कि शायद उनले पनि हामीले जस्तै काम गर्न सक्छन् ।’ ग्यूम हयोङ एक सम्भ्रान्त परिवारका थिए । उनी त्यतिबेला बेइजिङमा अध्ययन गरिरहेका थिए । एक् विशेष मौका जुन निकै सिमित उत्तर कोरियाली जनताले मात्रै पाउँथे ।
चीनको जीवनले एक अत्यधिक सम्भावनाले भरिएको दुनियाँका लागि उनको आँखा खोलिदियो र उनले आफ्नो देशबारे खबर जान्नका लागि इन्टेरनेटको सहारा लिए ।

‘सुरुमा त मलाई यसमा विश्वास नै लागेन । म यकिनका साथ भनिरहेको थिएँ कि पश्चिमी जनता झुटो बोलिरहेका थिए कि उत्तर कोरिया कस्तो देश थियो । तर मेरो मन मस्तिष्कबीच द्वन्द्व चलिरहेको थियो । मेरो दिमागले ‘तिमीले हेरिरहन आवश्यक छैन भन्यो तर मनले भने थप हेर्न चाहन्थ्यो ।’
उत्तर कोरियाका २.५ करोड मानिसहरुलाई कडाइका साथ नियन्त्रणमा राखिएको छ । त्यसलै उनीहरुलाई बाहिरी विश्वको बारे थाहा हुँदैन । बाहिरी दुनियाँले उनको देशबारे के सोच्छ, त्यसको निकै कम वा कुनै जानकारी नै हुँदैन भन्न सकिन्छ ।
नेता सर्वशक्तिमान र सर्वगुण सम्पन्न देवता समान हुन् जो पूरा इमान्दारिताको हकदार छन् भन्ने कुरा पनि त्यहाँका जनतालाई सिकाइन्छ ।
ग्यूम ह्योकका लागि यी नौजवानलाई सत्ता मिल्नु एउटा यस्तो वस्तुतर्फ इशारा थियो जुन निकै सिमित मात्रामा उपलब्ध थियो ।

#शंका गर्नेहरु
तर अन्यलाई शंका थियो । धेरैले किम जोङले विरासतमा सत्ता पाएका हुन् तर उनी यसका लायक छैनन् भन्ने चर्चा जताततै गर्न थालेका थिए ।
कुवेतका लागि उत्तर कोरियाका पूर्व राजदूत रयू वूले बुवाबाट छोरामा नेतृत्व सुम्पिएकोमा रिसाएका थिए ।

‘मेरो मनमा पहिलो पटक सोच आएको थियो कि,‘ओहो एक अर्को उत्तराधिकारी ?’ उत्तर कोरियाली जनताहरु वंशवादी उत्तराधिकारीबाट थाकिसकेका थिए । विशेष रुपमा कुलिन वर्गकाबीच, हामी केही नयाँ र अनौठो चाहन्छौँ भन्ने भावना रहँदै आएको थियो । हामीले सोचेका थियौँ कि ‘केही नौलो हुन सक्दैन ?’’

सन् १९४८ मा उत्तर कोरिया अस्तित्वमा आएपछि किम परिवारले नै शासन गर्दै आइरहेको छ । जनतालाई उनीहरुको वंश दैविय भएको बताइँदै आएको छ । यो वंशलाई वैध बनाउने एउटा तरिका हो ।
‘मैले यस्तो कुरा सुनेँ, ‘हामी सधै सबैभन्दा प्यारा नेताको सेवा गरिरहेका छौ । होइन र ?’
‘देश चलाउने मामिलामा एक २७ वर्षका व्यक्तिलाई के थाहा हुन्छ ? यो मुख्र्याइँ मात्रै हो ।’

#एक प्रतिज्ञा
नयाँ नेताले सन् २०१२ मा एक भाषणमा कसम खाएका थिए कि उत्तर कोरियाली जनताले अब उप्रान्त कहिल्यै आफ्नो पटुकी कस्न आवश्यक पर्दैन ।

उत्तर कोरियाले १९९० को दशकमा एक विनाशकारी अकालको सामना गरेको थियो । जसमा लाखौ मानिसले आफ्नो ज्यान गुमाएका थिए । उनीहरु आफ्नो नयाँ नेताले उनीहरुको खानेकुराको कमी र उनीहरुको समस्याको समाधान गर्छन् भन्ने आशामा थिए ।
विदेश विभागका अधिकारीलाई धेरै अन्तर्राष्ट्रिय लगानी जुटाउने आदेश दिइएको थियो । देश भित्र केही मानिसहरुले परिवर्तन पनि देखे ।
देशको पूर्वी तटमा एक प्रान्तमा बस्ने ड्राइभरर यू सेओंग–जूका अनुसार उनले सुपरमार्केटमा उत्तर कोरियामा बनेका धेरै कुराहरु देख्न सुरु गरे ।

‘हाम्रो लागि अचम्म र गर्वको कुरा के थियो भने उत्तर कोरियाली खाद्य सामग्री साँच्चै नै प्याकेजिङको मामिलामा चिनियाँ उत्पादनको तुलनामा उत्कृष्ट थिए र यसको आपूर्ति भइरहेको थियो । यो साँच्चै नै स्वाभिमान बढाउने किसिमको थियो ।

#नियन्त्रण
हत्याबाट बच्नका लागि शरण लिने कोशिशमा दर्जनौ मानिस सीमापारिबाट चीन र पछि गएर दक्षिण कोरियामा भागे ।
किम जोङ उनले भविष्यमा थप असन्तुष्टि रोक्ने फैसला लिए । सीमाको सुरक्षा पहिले भन्दा पनि कडा पारियो । सीमामा काडेँतार लगाइयो ।
यो अवधिमा एजेन्टको रुपमा काम गर्दै गर्दा हा जीन वू आफ्नो उत्तर कोरियाबाट करीब १०० मानिसलाई निकाल्न सफल भए ।
देशमा एउटा छुट्टै सीमा सुरक्षा बल छ । उनीहरुलाई सीमा पार गर्ने कोशिश गर्ने जो कोहीलाई पनि गोली हान्ने आदेश दिइयो ।
परमाणु बमको परीक्षण गरेपछि नकाबन्दीको मार खेपेको उत्तर कोरियाका लागि यो भन्दा पनि खराब समय आउन बाँकि नै थियो । २०२० को जनवरीमा जब कोभिड महामारीले छिमेकी चीनलाई आफ्नो चपेटामा लियो, तब उत्तर कोरियाले आफ्नो सीमा बन्द गरिदियो । यसले मानिस मात्र होइन ब्यापार पनि बन्द भयो ।
डनडोङको मुख्य प्रवेशद्वारमा खाद्यान्न र अत्यावसकीय औषधी थुप्रियो । देशको ८० प्रतिशत व्यापार चीनसँग हुँदै आएको छ ।
‘कोभिडपछि धेरै कुरा फेरिएको छ । ’ यो भनाई हो जू सेओङको, जो उत्तर कोरियामा ड्राइभर हुन् । उनी चीनसँग जोडिएको सीमा नजिकै आफ्नी आमासँग केही कुरा गर्न सफल भएका थिए ।
‘अर्थव्यवस्था धरासयी भएको छ, महँगी अत्यधिक बढिरहेको छ । बाँच्न असाध्यै गाह्रो भइरहेको छ । मेरा आमा बुवाले खाना पाइरहनुभएको त छ तर असाध्यै महँगो छ । यसका कारण दबाब अत्यधिक छ । स्थिति गम्भीर छ ।’
खबरका अनुसार केही मानिसको खान नपाएर मृत्युसमेत भइरहेको छ ।
किम जोङ उन आफैंले यसलाई ‘असाध्यै ठूलो संकट’ बताएका छन् र यहाँसम्म कि एक भाषणमा उनको आँसुसमेत निस्किएको थियो । उत्तर कोरियाली नेताका लागि यो अचम्मको कुरा हो ।

प्रकाशित मिति : २०७८ पुष ६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस